-- : -- : --
--
नयाँ अपडेट यो सातामा संक्षिप्त खोज मेरो जिल्ला
Logo

नेपालगञ्जमा बाँदरको आतंक : डेढ महिनामै ४० जना घाइते

  • नेपालगञ्ज खबर
  • २०८३ आश्विन ५, सोमबार १२:४५ गते

नेपालगञ्ज । नेपालगञ्जमा पछिल्लो समय बाँदरको आक्रमणका घटना बढ्दै गएका छन्। पछिल्लो करिब डेढ महिनाको अवधिमा बाँदरको टोकाइ तथा आक्रमणबाट घाइते भएका ४० जना सर्वसाधारण उपचारका लागि भेरी अस्पताल पुगेका छन्।

भेरी अस्पतालमा सर्प तथा जनावरजन्य टोकाइका बिरामीबारे अध्ययन गरिरहेका डा. बद्री चापागाईंका अनुसार पछिल्लो ४५ दिनमा मात्रै बाँदरको आक्रमणमा परेका ४० जना उपचारका लागि अस्पताल आएका हुन्।

डा. चापागाईंका अनुसार बाँदरको आक्रमणबाट घाइते हुने घटना नेपालगञ्जका लागि तुलनात्मक रूपमा नयाँ देखिएको छ। कुकुर, बिरालो तथा सर्पको टोकाइका बिरामी अस्पतालमा आउने क्रम पहिलेबाटै रहे पनि पछिल्लो समय बाँदर घर तथा बस्तीमै प्रवेश गरेर मानिसलाई आक्रमण गर्ने घटना बढेको उनले बताए।

४५ दिनमा १ हजारभन्दा बढी जनावरजन्य टोकाइका घटना

भेरी अस्पतालको तथ्यांकअनुसार पछिल्लो ४५ दिनमा मात्रै १ हजार ३६ जना जनावरजन्य टोकाइ तथा आक्रमणका कारण उपचारका लागि अस्पताल पुगेका छन्।

 

त्यसमध्ये सबैभन्दा धेरै कुकुरको टोकाइका ८६५ जना रहेका छन्। त्यस्तै बिरालोको टोकाइबाट ११० जना र बाँदरको आक्रमणबाट ४० जना घाइते भएका छन्।

यस अवधिमा मुसाको टोकाइबाट २१ जना, सर्पदंशका ११८ जना तथा कीराको टोकाइबाट ४ जना उपचारका लागि भेरी अस्पताल पुगेका छन्। टोक्ने जीवजन्तु पहिचान हुन नसकेका १९ जना बिरामीसमेत अस्पताल आएको तथ्यांकमा उल्लेख छ।

बाँदरको आक्रमणबाट बच्न सचेत रहन आग्रह

नेपालगञ्जमा बाँदरको गतिविधि बढ्दै गएपछि सर्वसाधारणलाई सावधानी अपनाउन चिकित्सकहरूले आग्रह गरेका छन्। डा. चापागाईंले बाँदरको नजिक नजाने, लखेट्ने प्रयास नगर्ने तथा सम्भावित आक्रमणबाट जोगिन सचेत रहन सुझाव दिएका छन्।

उनका अनुसार बाँदरले टोकेमा वा आक्रमणबाट घाइते भएमा घरमै सामान्य उपचार गरेर बस्नुको सट्टा तुरुन्त स्वास्थ्य संस्थामा पुगेर उपचार गराउन आवश्यक हुन्छ।

भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. नवीन दर्नालका अनुसार गाउँतिर किसानलाई बाँदरले टोकेको घटना सुनिए पनि बजार क्षेत्रमा यसरी बिरामी आउनु पछिल्लो समय देखिएको नयाँ अवस्था हो।

बाँदरको टोकाइबाट घाइते भएका बिरामीलाई जंगली जनावरको टोकाइका रूपमा उपचार गर्दै आवश्यकताअनुसार रेबिजविरुद्धको खोप उपलब्ध गराउने व्यवस्था अस्पतालले गरेको डा. दर्नालले जानकारी दिए।

नेपालगञ्जमा बाँदरको आक्रमणका घटना बढ्दै गएसँगै सर्वसाधारणमा पनि चिन्ता बढेको छ। बस्ती तथा घर आसपास बाँदर देखिन थालेमा त्यसलाई जिस्क्याउने वा लखेट्ने प्रयास नगर्न चिकित्सकहरूले सुझाव दिएका छन्।