

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो तीन महिना साउनदेखि असोजसम्म नेपालमा १ करोड ५७ लाखभन्दा बढी थान कण्डम आयात भएको छ। भन्सार विभागको वैदेशिक व्यापारसम्बन्धी तथ्यांकअनुसार उक्त अवधिमा ८ करोड रुपैयाँभन्दा बढी मूल्यको कण्डम नेपाल भित्रिएको हो।


विभागको विवरणअनुसार साउन, भदौ र असोज गरी तीन महिनामा कुल १ करोड ५७ लाख ११ हजार २०७ थान कण्डम आयात भएको छ। आयातित कण्डमको कुल मूल्य ८ करोड ५ लाख ७९ हजार रुपैयाँ रहेको छ।

यति ठूलो परिमाणमा कण्डम आयात हुँदा राज्यले भने २ हजार रुपैयाँ मात्र राजस्व प्राप्त गरेको तथ्यांकमा उल्लेख छ।
सरकारले कण्डमलाई अत्यावश्यक स्वास्थ्य सामग्रीका रूपमा राख्दै भन्सार महसुलमा छुटको व्यवस्था गरेको छ। यही कारण यसको आयातबाट प्राप्त हुने भन्सार राजस्व न्यून रहेको हो।

कण्डम परिवार नियोजन तथा यौन स्वास्थ्यसँग सम्बन्धित महत्त्वपूर्ण सामग्री हो। यसको सही प्रयोगले अनिच्छित गर्भधारण रोक्न र एचआईभीलगायत यौन सम्पर्कबाट सर्न सक्ने संक्रमणको जोखिम घटाउन मद्दत गर्छ।

तीन महिनाको अवधिमा भएको आयातले नेपालमा कण्डमको आपूर्ति तथा स्वास्थ्य सामग्रीको व्यापारसम्बन्धी अवस्थालाई देखाउँछ।


