

बाँकेका प्रहरी प्रमुख अंगुर जिसीलाई ‘शान्तिपूर्ण पुरस्कार’
काठमाडौं। ७१औँ प्रहरी दिवसको अवसरमा बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) अंगुर जिसी ‘शान्तिपूर्ण पुरस्कार’बाट पुरस्कृत भएका छन्। शुक्रबार प्रहरी प्रधान कार्यालयमा आयोजित समारोहमा गृहमन्त्री सुधन गुरुङले जिसीलाई पुरस्कार प्रदान गरेका हुन्।
जिल्ला प्रहरी कार्यालय बाँकेको नेतृत्व सम्हालिरहेका जिसीले अपराध अनुसन्धान तथा प्रविधिमा आधारित प्रहरी सेवा विस्तारमा उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै पुरस्कार प्रदान गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
जिसीको नेतृत्वमा बाँके प्रहरीले इन्तजार मोहम्मद अरबी खाँको हत्या, सिर्जना बुढामगरलाई जलाएर मारिएको घटना, अप्सना बस्नेतको अपहरण तथा हत्या र विशाल चन्द ठकुरीको हत्या प्रकरणमा संलग्न फरार प्रतिवादीहरूलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो।
प्रहरीका अनुसार आर्थिक वर्ष २०८२/०८३ मा बाँके प्रहरीले लागुऔषधसम्बन्धी मुद्दामा ३८२ जनाविरुद्ध अनुसन्धान गरेको थियो। त्यस्तै, गत आर्थिक वर्षमा भन्सार छलीका ३ करोड ४७ लाख रुपैयाँ बराबरका सामान, ४७ वटा सवारीसाधन र तस्करीमा संलग्न भएको आरोपमा ६२ जनालाई नियन्त्रणमा लिइएको थियो।
यसैगरी, जिसी नेतृत्वको टोलीले गत आर्थिक वर्षमा विभिन्न मुद्दाका ५७७ जना फरार प्रतिवादीलाई पक्राउ गरेको विवरणमा उल्लेख छ।
बाँकेमा अपराध अनुसन्धान, फरार प्रतिवादी पक्राउ तथा प्रहरी सेवाको प्रभावकारी सञ्चालनमा गरेको कामका लागि एसपी जिसीले प्राप्त गरेको यस पुरस्कारलाई जिल्लाको प्रहरी कार्यसम्पादनसँग जोडेर हेरिएको छ।

