-- : -- : --
--
नयाँ अपडेट यो सातामा संक्षिप्त खोज मेरो जिल्ला
Logo

कर्णालीका सभामुखदेखि सांसदसम्मा बुझे साढे १७ लाख दसैँ खर्च

  • नेपालगञ्ज खबर
  • २०८३ आश्विन २९, बिहीबार १६:०५ गते

सुर्खेत । कर्णाली प्रदेशसभाका सभामुख, उपसभामुख, विपक्षी दलका नेता, सचेतक, समिति सभापति तथा सांसदहरूले दसैँ खर्चबापत साढे १७ लाख रुपैयाँभन्दा बढी रकम बुझेका छन्।

प्रदेश सभा सचिवालयका अनुसार असोज महिनाको तलबसँगै प्रदेशसभा पदाधिकारी तथा सदस्यहरूको खातामा चाडपर्व खर्चसमेत जम्मा गरिएको हो। सूचना अधिकारी राजेन्द्र पौडेलले नियमित पारिश्रमिकसँगै चाडपर्व भत्ता भुक्तानी गरिएको जानकारी दिएका छन्।

सभामुख नन्दा गुरुङले ६१ हजार ४८० रुपैयाँ, उपसभामुख यशोदा न्यौपाने र विपक्षी दलका नेता जीवनबहादुर शाहीले जनही ५८ हजार रुपैयाँ दसैँ खर्च पाएका छन्। त्यस्तै, प्रमुख सचेतक र विषयगत समितिका सभापतिहरूले जनही ५६ हजार ८४० रुपैयाँका दरले चाडपर्व खर्च बुझेका छन्।

कर्णाली प्रदेशसभाका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन, २०७५ अनुसार प्रदेशसभाका पदाधिकारी तथा सदस्यहरूले आफ्नो धर्म, संस्कृति र परम्पराअनुसार मनाउने चाडपर्वका लागि एक महिनाको पारिश्रमिक बराबरको रकम वार्षिक रूपमा पाउने व्यवस्था छ।

उक्त ऐनअनुसार प्रदेशसभा सदस्यको मासिक पारिश्रमिक ५२ हजार ६०० रुपैयाँ छ। प्रमुख सचेतक र विषयगत समितिका सभापतिहरूको मासिक पारिश्रमिक भने ५६ हजार ८४० रुपैयाँ रहेको छ।

 

कर्णाली प्रदेशसभामा चारवटा विषयगत समिति रहे पनि हाल एउटा समितिमा सभापति छैनन्। त्यस्तै, नेकपा एमालेले प्रमुख सचेतक नियुक्त गर्न सकेको छैन। नेपाली कांग्रेस र नेपाली कम्युनिस्ट पार्टीका गरी दुई जना प्रमुख सचेतक छन्।

यसैबीच, पूर्वमुख्यमन्त्री राजकुमार शर्माको सांसद पद गुमिसकेकाले असोज महिनाको पूरा पारिश्रमिक नभई करिब १२ दिनको मात्रै रकम भुक्तानी गरिएको प्रदेशसभाका लेखा अधिकृतले जनाएका छन्।

प्रदेशसभाको बर्खे अधिवेशन भदौ २९ गते अन्त्य भएपछि सांसदहरू वीरेन्द्रनगर छाडेर आ–आफ्नो गृहजिल्ला जान थालेका थिए। दसैँ नजिकिएसँगै प्रदेश सरकारका मन्त्रीहरू पनि गृहजिल्लातर्फ लागेका छन्।

चाडपर्व खर्चको व्यवस्था कानुनअनुसार भए पनि सार्वजनिक पदाधिकारीले पाउने सुविधाबारे नागरिकस्तरमा पारदर्शिता र जवाफदेहिताको बहस महत्त्वपूर्ण रहन्छ।