

काठमाडौँ । धर्म फरक भए पनि संस्कार, सम्बन्ध र खुसी साझा हुन सक्छन् भन्ने उदाहरण हुन् सर्वोच्च अदालतका न्यायाधीश अब्दुल अजिज मुसलमान।

इस्लाम धर्मावलम्बी मुसलमान इदमा आफ्नो घरमा पाकेको सेवई छिमेकीलाई बाँड्छन् भने दसैँ र तिहारमा छिमेकीबाट सेलरोटी तथा अन्य परिकार ग्रहण गर्छन्। उनका लागि यी पर्व केवल धार्मिक उत्सव मात्र होइनन्, आपसी आत्मीयता र सामाजिक सद्भावका अवसर पनि हुन्।

कपिलवस्तुको सुखरामपुरमा जन्मिएका मुसलमानको बाल्यकाल हिन्दु र मुस्लिम समुदायको साझा परिवेशमा बित्यो। गाउँकै मदरसामा कुरान पढेका उनले अक्षर चिन्ने र प्रारम्भिक शिक्षा लिने क्रममा हिन्दु ब्राह्मण परिवारसँग पनि नजिकबाट सम्बन्ध गाँसे।
२०४० सालतिर कानुन अध्ययनका लागि नेपालगन्ज पुगेपछि उनी हिन्दु समुदायका प्राध्यापक डा. विश्वनाथप्रसाद कुर्मीको घरमा बसे। त्यही घरमा उनले हिन्दु परिवारसँगै खानपान र चाडपर्वको खुसी साटे। मस्जिदमा नमाज पढ्ने उनी दसैँ र तिहारमा पनि परिवारसँगै सहभागी हुन्थे।

तिहारमा दीप बाल्ने परम्परालाई उनी मानवीय भावना र उज्यालोको प्रतीकका रूपमा लिन्छन्। उनका अनुसार बत्ती बाल्ने चलन आफ्नै समुदायमा पनि विभिन्न अवसरमा रहेको छ।
हाल काठमाडौँमा बस्दै आएका मुसलमानले छिमेकीसँग चाडपर्वको आत्मीयता कायम राखेका छन्। इदमा सेवई बाँड्ने र तिहारमा सेलरोटी लिने उनको पारिवारिक परम्पराले फरक धर्मबीचको सम्बन्धलाई अझ नजिक बनाएको छ।

अदालतमा संविधान र कानुनको व्याख्या गर्ने जिम्मेवारी सम्हालिरहेका मुसलमानको व्यक्तिगत जीवनले नेपाली समाजको बहुधार्मिक सहअस्तित्व र आपसी सम्मानको सुन्दर सन्देश दिएको छ।


