

काठमाडौं । सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) मा आर्थिक अनियमितता गरेको आरोपमा तत्कालीन महाप्रबन्धकसहित ८ जना पक्राउ परेका छन्।


प्रहरीको प्रेस विज्ञप्तिअनुसार संस्थानका तत्कालीन महाप्रबन्धक, उच्च तहका अधिकारी, चिस्यान केन्द्रका प्रमुख तथा कर्मचारीहरूको मिलेमतोमा संस्थानलाई आर्थिक हानि पुर्याई १२ करोड १३ लाख ४३ हजार ५३० रुपैयाँ गैरकानुनी लाभ लिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।



यस प्रकरणमा तत्कालीन महाप्रबन्धक सञ्जीव झासहित विभिन्न पदमा कार्यरत ८ जनालाई २०८३ कात्तिक १३ गते विभिन्न स्थानबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा सञ्जीव झा, विजयकुमार यादव, मनहरि शर्मा, रामकेवल राय, जितेन्द्रकुमार यादव, नवीन राय यादव, शिवनन्दन राय र विखबहादुर भण्डारी रहेका छन्।
उनीहरूमाथि मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत आपराधिक विश्वासघात तथा संगठित अपराध निवारण ऐन, २०७० अन्तर्गतको कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीले काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर उनीहरूलाई नियन्त्रणमा लिएको जनाएको छ। घटनाबारे थप अनुसन्धान जारी छ।


