

सिरहा । सामाजिक सञ्जालमार्फत विभिन्न व्यक्ति तथा समुदायलाई लक्षित गरी भ्रामक, आपत्तिजनक र धम्कीपूर्ण सामग्री सार्वजनिक गरेको आरोपमा सिरहामा मनोज मानव भन्ने मनोज कुमार महतो पक्राउ परेका छन्।
लहान नगरपालिका–२४ का महतोले लामो समयदेखि सामाजिक सञ्जालमा जिल्लाका उद्योगी–व्यवसायी, जनप्रतिनिधि, पत्रकार, राजनीतिक व्यक्तित्व तथा राष्ट्रसेवक कर्मचारीलगायत विभिन्न व्यक्ति र समुदायलाई लक्षित गर्दै तथ्यहीन तथा आपत्तिजनक सामग्री पोस्ट गर्दै आएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।
प्रहरीका अनुसार उनका पोस्ट तथा गतिविधिबाट सम्बन्धित व्यक्तिको प्रतिष्ठामा असर पुग्नुका साथै सामाजिक सद्भाव र सार्वजनिक शान्तिमा समेत नकारात्मक प्रभाव पर्न सक्ने देखिएपछि प्राप्त जाहेरीका आधारमा अनुसन्धान अघि बढाइएको हो।
होटलमा लुकेर बसेको अवस्थामा पक्राउ !
महतोलाई पक्राउ गर्न अदालतबाट पक्राउ पुर्जी जारी भएपछि प्रहरीले उनको खोजी थालेको थियो। खोजतलासका क्रममा उनी उदयपुरको चतरा पुलपारि रहेको एक होटलमा लुकिछिपी बसेको अवस्थामा असोज ४ गते पक्राउ परेका हुन्।
जिल्ला प्रहरी कार्यालय उदयपुरको सहयोगमा पक्राउ गरिएका महतोलाई थप अनुसन्धानका लागि सिरहा ल्याइएको प्रहरीले जनाएको छ।
साइबर अपराधसम्बन्धी आधा दर्जन मुद्दा !
प्रहरीका अनुसार महतोविरुद्ध सामाजिक सञ्जालमार्फत आपत्तिजनक तथा भ्रामक सामग्री सम्प्रेषण गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय सिरहामा साइबर अपराधसम्बन्धी आधा दर्जन मुद्दा दर्ता भइसकेका छन्।
सिरहाका प्रहरी प्रमुख बासुदेव पाठकका अनुसार विभिन्न व्यक्तिले दिएको जाहेरीका आधारमा ती घटनामाथि अनुसन्धान भइरहेको छ।
हतियार देखाएर धम्की दिएको आरोप !
यसैबीच, महतोले आफूलाई पूर्व जनतान्त्रिक लडाकुका रूपमा चिनाउँदै केही व्यक्तिलाई धम्की दिएको र आफूसँग स्वचालित हतियार रहेको दाबी गर्दै हतियारका तस्बिर पठाउने गरेको सूचनासमेत प्राप्त भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार त्यस्ता गतिविधिमार्फत केही व्यक्तिसँग आपराधिक लाभ लिन खोजेको आरोपसमेत छ। यद्यपि यी विषयमा थप तथ्य अनुसन्धानबाट खुल्ने प्रहरीले जनाएको छ।
महतोलाई नियन्त्रणमा लिएर प्रहरीले उनका सामाजिक सञ्जाल गतिविधि, प्राप्त जाहेरी तथा अन्य आरोपबारे थप अनुसन्धान गरिरहेको छ। अनुसन्धानबाट प्राप्त तथ्यका आधारमा प्रचलित कानुनअनुसार थप प्रक्रिया अघि बढाइने जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

