

नेपालगञ्ज । बाँकेको नेपालगञ्जमा प्रहरीले दुई राउन्ड हवाई फायर गरेपछि लागूऔषध खैरो हेरोइनसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।
भारतको बहराइचबाट खैरो हेरोइन ल्याएर लुम्बिनी र कर्णाली प्रदेशका विभिन्न जिल्लामा बिक्री गर्ने गिरोहबारे निगरानी गरिरहेका बेला प्रहरीले नेपालगञ्ज उपमहानगरपालिका–१४ बाट उनलाई नियन्त्रणमा लिएको हो।
लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय नेपालगञ्जबाट खटिएको प्रहरी टोलीले भारतबाट मोटरसाइकलमा नेपाल प्रवेश गर्दै गरेका व्यक्तिलाई शंकास्पद अवस्थामा देखेपछि रोक्न खोजेको थियो। प्रहरीका अनुसार पटक–पटक रोक्न संकेत गर्दा पनि मोटरसाइकल नरोकेपछि नियन्त्रणमा लिन दुई राउन्ड हवाई फायर गरिएको थियो।
त्यसपछि मोटरसाइकलसहित पक्राउ गरी खानतलासी गर्दा भारतको उत्तर प्रदेशस्थित बहराइच जिल्ला, रुपैडिया थाना चकिया रोड ठेगाना भएका २४ वर्षीय नदिम राईको साथबाट १०३ ग्राम ७९० मिलिग्राम खैरो हेरोइन बरामद भएको प्रहरीले जनाएको छ।
प्रहरीले उनको साथबाट भारतीय नम्बर प्लेट UP40J0657 को मोटरसाइकल र एउटा मोबाइल फोनसमेत बरामद गरेको छ।
पक्राउ परेका राईलाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय बाँकेमा बुझाइएको लागूऔषध नियन्त्रण ब्युरोले जनाएको छ।
ब्युरोका अनुसार लागूऔषध (नियन्त्रण) ऐन, २०३३ अन्तर्गत खैरो हेरोइनको कारोबारमा संलग्न व्यक्तिलाई कसुरको मात्रा तथा अवस्थाअनुसार १५ वर्षदेखि जन्मकैदसम्मको सजाय र ५ लाखदेखि २५ लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ।

