

नेपालगञ्ज । बाँके प्रहरीले नेपालगञ्जबाट ठूलो परिमाणमा लागूऔषध खैरो हेरोइनसहित तीन जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।
लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगञ्ज र जिल्ला प्रहरी कार्यालय बाँकेको संयुक्त टोलीले नेपालगञ्ज उपमहानगरपालिका–२ स्थित एक होटलबाट ८०० ग्राम खैरो हेरोइन बरामद गरेको हो।
प्रहरीका अनुसार पक्राउ पर्नेमा भारतको उत्तर प्रदेश, बहराइच घर भएका २१ वर्षीय रिजवान अहमद इद्रिसी, १८ वर्षीय माज अहमद र २६ वर्षीय रफ्त खान रहेका छन्।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय बाँकेमा बुझाइएको प्रहरीले जनाएको छ।
प्रहरीले उनीहरूको साथबाट ८०० ग्राम खैरो हेरोइन, भारतीय नम्बर प्लेट UP32FH2679 को स्कुटर र २ थान मोबाइल फोन समेत बरामद गरेको जनाएको छ।
प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिहरू नेपालका विभिन्न स्थानमा लागूऔषध बिक्री वितरण गर्ने उद्देश्यले आएको हुनसक्ने सूचनाका आधारमा अनुसन्धान अघि बढाइएको हो।

