

कैलाली । कैलालीको गोदावरी नगरपालिका–१, अत्तरिया क्षेत्रमा खसीको मासु भन्दै अन्य जनावरको मासु बिक्री गर्न खोजेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार अत्तरिया बजारको धनगढी लाइनमा रहेको रफिक मासु पसलबाट शुक्रबार दुई जना पक्राउ परेका हुन्। पक्राउ पर्नेमा पसल सञ्चालक भारतीय नागरिक ६५ वर्षीय रफिक करेसी र कञ्चनपुरको कृष्णपुर घर भएका ४१ वर्षीय गणेश धामी छन्।
उनीहरूले खसीको मासु भन्दै बाख्राको मासु बिक्री गरेको आरोपमा अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी योगेन्द्र तिमिल्सिनाले बताएका छन्। घटनाबारे इलाका प्रहरी कार्यालय मालाखेतीले थप अनुसन्धान गरिरहेको छ।

प्रहरीले पसलबाट बरामद गरेको मासु परीक्षणका लागि प्रयोगशालामा पठाएको छ। प्रयोगशाला परीक्षणपछि बरामद मासुको वास्तविक पहिचानबारे थप स्पष्ट हुने प्रहरीले जनाएको छ।
यसैबीच, गोदावरी नगरपालिका–१ स्थित बसपार्कबाट प्रहरीले बिहीबार अर्का एक व्यक्तिलाई पनि पक्राउ गरेको थियो। कुकुर काटेर मासु बिक्री गर्न खोजेको सूचना आएपछि ६५ वर्षीय सुरेश नेपालीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
गोदावरी नगरपालिका–२ घर भएका नेपालीले भने उक्त मासु आफूले खानका लागि स्यालको मासु काटेको अनुसन्धानका क्रममा बताएका छन्। प्रहरीले उनको साथबाट बरामद भएको मासु पनि परीक्षणका लागि प्रयोगशालामा पठाएको छ।

हालसम्म सुरेशबाट बरामद भएको मासु कुकुर, स्याल वा अन्य कुनै जनावरको हो भन्ने यकिन भइसकेको छैन। प्रयोगशाला परीक्षणको रिपोर्ट आएपछि मात्रै मासुको वास्तविक पहिचान खुल्ने प्रहरीले जनाएको छ।
घटनामा पक्राउ परेका तीनै जनामाथि थप अनुसन्धान भइरहेको छ।

